तोकिएकै मितिमा निर्बाचन हुन्छ : मन्त्री घिसिङ
बेलबारी । तोकिएको निर्धारित मितिमै निर्बाचन सम्पन्न हुने र यस्मा कुनै शंका नगर्न अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले बताएका छन । सोमबार बिहान बेलबारी ३ स्थित आदिबासी जनजाति भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।
मन्त्री घिसिङले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मूल दायित्व तत्काल समस्या समाधान गर्दै निर्वाचनको वातावरण तयार गर्नु भएको बताए । उनले सरकारले कारबाही गरेर मलाई पदबाट हटायो, जनताले विश्वास गरे त्यो भन्दा ठुलो जिम्मेवारी दिएको बताउँदै भने ‘देशको सही नेतृत्व लिन तयार भएर आएको छु ।’ मन्त्री घिसिङले भने ‘देश बत्तीको उज्यालोले मात्र बन्दैन, मन मस्तिष्कको उज्यालोले बदलिन्छ ।’ राष्ट्र निर्माणको वास्तविक आधार मानिसको सोच, चरित्र र क्षमता हो ।
मन्त्री घिसिङले राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै भने ‘सही समयमा सही व्यक्ति प्रधानमन्त्री नभएसम्म देश चल्दैन, ७५ वर्षको अनुभवले देखायो राजनीतिक परिवर्तनले मात्र देश बन्दैन रहेछ ।’ उनले अगामी निर्वाचन ठुलो मौका भएको बताउँदै जनताले सही नेतृत्व छान्न सक्नुपर्ने आग्रह गरे ।
उनले देश समृद्ध बनाउन ‘न्यु मेनस्ट्रीम फोर्स’को निर्माण आवश्यक रहेको बताउँदै भने ‘न्यु स्ट्रीम फोर्स निर्माण गरेर मात्र आगामी निर्वाचन पछिको ५ बर्षे सरकारले जनताका माग सम्बोधन गर्न सक्छ ।’ उनले भने ‘नयाँ शक्तिले एक अर्कालाई लाञ्छना लगाउने मात्र गर्नु हुँदैन ।’
आगामी निर्वाचन परिवर्तनको लागि ठुलो मौका भएको बताउँदै मन्त्री घिसिङले भने ‘नयाँ शक्ति, वैकल्पिक शक्ति र परिवर्तन चाहने शक्तिहरू एकजुट हुनुपर्छ, सही नेतृत्व छानियो भने ५ वर्षमै जनता माग भन्दा बढी काम हुन्छ ।’मातृका धिमालको सभापतित्वमा भएको कार्यक्रम अजित धिमालले सञ्चालन गरेका थिए ।


