विराटनगर विमानस्थलमा प्रचण्डमाथि दुर्व्यवहार
विराटनगर । नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहालमाथि विराटनगर विमानस्थलमा दुर्व्यवहार गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।
नेकपाकाे विराटनगरमा आयाेजित सन्देशसभा सकेर फर्कने क्रममा विमानस्थल परिसरमा सोमबार साँझ प्रचण्डमाथि दुर्व्यवहार गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हाे ।
विमानस्थलकाे भीआइपी कक्ष बन्द छ । कक्ष बन्द भएपछि एयरपाेर्ट भित्र रहेकाे कफी सपमा जाने क्रममा उनीमाथि दुर्व्यवहार भएकाे प्रहरी स्राेतले बतायाे ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले एक जनालाई नियन्त्रणमा लिएकाे पुष्टि गरे । मादक पदार्थ सेवन गरेका व्यक्तीले प्रचण्डलाई गाली गरेकाे सूचनापछि पक्राउ गरिएको बताउँदै उनले प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।
प्रहरीले भने औपचारिक रुपमा बताउँन चाहेको छैन । प्रहरी स्रोतका अनुसार प्रचण्डसँगै जाने बुद्ध एयरको जहाजमा काठमाडौं जाने तयारीमा रहेका उदयपुरका अनुपबहादुर बस्नेत पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
नेकपा नेता तथा तत्कालिन नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले मदिरा सेवन गरेका व्यक्तिले विमानस्थलमा प्रचण्डमाथि चर्काे स्वरमा बाेलेकाे बताए । ‘मातेर बसेका व्यक्तिले मेरो घरमा आगो लगायौं भनेपछि पिएसओले साइड लगाएको रहेछ,’ उनले भने,‘दुर्व्यवहार गरेको होइन ।’-बेतना दैनिकबाट


