उदयपुर आउंदै गरेका केसी आफू सवार गाडी सहित मृत फेला
उदयपुर । काठमाडौंदेखि उदयपुर आउदै गरेका दिपेन्द्र केसी तीन दिनपछि आफू सवार गाडीसहित मृत फेला परेका छन् ।
उनी तीन दिनअघि मंसिर १३ गते शनिबार काठमाडौंबाट उदयपुरको रुपाटाँर जाने भन्दै टाटा सुमो गाडी आफैले चलाएर आएका थिए ।
स्थानीयका अनुसार व्यापक खोजतलासपछि उदयपुरको घुर्मी नजिकै पाखेमारा भन्ने ठाउँमा सडकदेखि करिब ३ सय मिटर तल गाडी दुर्घटना भएको अवस्थामा केसी मृत भेटिएका हुन् । गाडीमा एक्लै रहेका उनी मानव बस्तीबाट टाढा रहेको जंगलबीच मध्यरात करिब १२ बजेतिर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
ना–१–ज ५८१२ नम्बरको टाटा सुमो गाडी चालक केसी उनी सम्पर्कबिहीन भएको दिन राती ८ः५८ बजे बिपी राजमार्गअन्तर्गत खुर्कोट प्रहरी चेकपोस्टमा गाडीसहित इन्ट्री भएका बताइएको छ । लगतै राती १०ः५५ बजे उनले अन्तिम पटक परिवारलाई सम्पर्क गरी आफू उदयपुरको घुर्मी पुग्न करिब ७ किलोमिटर मात्र बाँकी रहेको जानकारी दिएका थिए ।
त्यसपछि गाडीसहित बेपत्ता भएका दिपेन्द्रको मोवाईल रिङ बजेपनि रिसिभ हुन छोडेपछि शंका लागेर परिवारले प्रहरीको सहयोगमा खोजीकार्य तीब्र बनाएको थियो ।
मोवाईल लोकेशन ट्रेस गर्दा लोकेशन घुर्मी नजिकै लगभग १०० मिटर वरिपरि देखिएपछि सोही क्षेत्रतिर आफन्त, स्थानीय र प्रहरीले खोजतलास बढाएसँगै दुर्घटनाग्रस्त गाडी र लाश पत्ता लागेको हो ।


