मोरङको पथरीका दुई फरार प्रतिवादी पक्राउ
पथरी, १६ मंसिर । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ का दुई फरार प्रतिवादीलाई प्रहरीले अलग–अलग समयमा पक्राउ गरी इलाका प्रहरी कार्यालय पथरीमा राखी अनुसन्धान अघि बढाएको छ।
मिति २०८२ साल मंसिर १५ गते राति करिब २०:५० बजे, मोरङ जिल्ला अदालतले मिति २०८१।०१।०६ गतेको फैसलामार्फत हातहतियार खरखजना मुद्दामा २ महिना ११ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी थेप्चे भन्ने राजकुमार तुम्बापो (३४ वर्ष) लाई अस्थायी प्रहरी पोस्ट किर्तिपुरबाट खटिएको टोलीले निजकै घरमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
तेसैगरी सोही दिन २१:३० बजे, GEN-Z आन्दोलन (भदौ २३/२४) का क्रममा फरार भएका लागूऔषध मुद्दाका कैदी किशान आङ्देम्बे (३४ वर्ष) लाई समेत प्रहरी टोलीले पथरीशनिश्चरे–३ स्थित उनको वतन घरमै फेला पारी पक्राउ गरेको हो। उनी यसअघि केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार रहेको बताइएको छ।
दुवैजनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


