झापा दमकमा आगलागी हुंदा गाईगोठ जलेर नष्ट,आठ लाख बराबरको क्षति
झापा । झापाको दमक नगरपालिका–१०, सगरमाथा टोलमा मिति २०८२ मंसिर १६ गते बिहान करिब ११:३० बजेको समयमा भएको आगलागीबाट एक गर्भवती गाईको मृत्यु भएको छ भने करिब आठ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
स्थानीय केशव भण्डारीले घर नजिकैको खेतबारीमा धानको लारमा आगो सल्काउने क्रममै आगो फैलिंदै परालको कुनिउ तथा नजिकै रहेका दुई वटा गाईगोठमा पुगेर व्यापक आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ईट्टाको गारो र टिनको छानो भएको गोठ पूर्ण रूपमा जलेको र गोठभित्र रहेको एक गर्भवती गाई जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अर्को गाई घाइते भएको छ।
आगलागीबाट गोठमा राखिएका काठ, भाँडाकुडा, अन्नपात तथा अन्य सामग्री जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमान अनुसार करिब रु. ८,००,००० बराबरको क्षति भएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।
आगो नेपाल प्रहरी, स्थानीयबासी, उर्लाबारी नगरपालिकाको दमकल तथा कमल गाँउपालिकाको दमकलको सहयोगमा दोपहोर १:१० बजे तिर पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको हो।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


