लोडसेडिङ हटेकै दिन कुलमानलाई अगुवा मानेको थिंए : नायिका रिमा विश्वकर्मा
काठमाडौ । उज्यालो पार्टी नेपालकी नेतृ रिमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन सबैलाई आग्रह गरेकी छिन्।
उज्यालो नेपाल पार्टीको घोषणात्मक कार्यक्रममा बोल्दै उनले आफ्नो जीवनमा राजनीतिसँग जोडिएको सबैभन्दा ठूलो परिवर्तन लोडसेडिङ अन्त्य भएको दिन देखेको बताइन्।
उनका अनुसार १८ घण्टे लोडसेडिङ हटाउने निर्णयले देशभरका लाखौँ नागरिकको जीवनमा गरेको प्रभावले परिणाममुखी नेतृत्वको महत्व प्रमाणित भएको हो।
रिमाले कुलमान घिसिङलाई सोही दिनदेखि आफ्नो ‘अगुवा’का रूपमा मानेको उल्लेख गरिन्। उनी भन्छिन्, “कुलमान जोजोले हाम्रो घरमा उज्यालो ल्याइसक्नुभयो, अब उहाँकै नेतृत्वमा देशको भविष्य उज्यालो बनाउने अभियानमा छौं।”
उनले अहिले नै सक्रिय राजनीतिमा आउन उपयुक्त समय भएको भन्दै युवापुस्तासहित सबै नागरिकलाई सहभागिताका लागि उत्प्रेरित गरिन्।
रिमाका अनुसार उज्यालो पार्टी नेपालको अभियान केवल नेतृत्वको होइन, देशलाई माया गर्ने हरेक नागरिकको साझा प्रयास हो।


