यस्तो छ कुलमानको आर्थिक क्रान्तिको रोडम्याप…
काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् र पर्यटन क्षेत्रको अपार सम्भावना उपयोग गर्न सके देशका नागरिकलाई शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवा निःशुल्क उपलब्ध गराउन सकिने दाबी गरेका छन्।
बुधबार राजधानीमा आयोजित उज्यालो नेपाल पार्टी घोषणा सभालाई सम्बोधन गर्दै उनले आगामी १५–२० वर्षभित्र नेपालले ५० हजार मेगावाट विद्युत् निर्यात गर्ने क्षमता राख्ने बताए। उनका अनुसार सो मात्राबाटै नेपालले वार्षिक ४० देखि ५० खर्ब रुपैयाँसम्म आम्दानी गर्न सक्छ।
घिसिङले भने –
‘अहिले नेपालको कुल गार्हस्थ उत्पादन ५० खर्बभन्दा अलि बढी छ। यदि यति नै रकम हामीले बिजुली बेचेर कमाउन सक्यौँ भने सरकारलाई कर उठाउनै नपर्ने दिन आउँछ। १०–१५ वर्षपछि जनतालाई बिजुली नि:शुल्क दिन सकिन्छ।’
उनीका अनुसार जलविद्युतसँगै पर्यटन क्षेत्रलाई व्यवस्थित विकास गर्न सके देशले लक्जम्बर्ग र माल्टाजस्ता युरोपेली मुलुकले गरेझैँ यातायात समेत निःशुल्क बनाउन सक्छ।
लक्जम्बर्गको उदाहरण प्रस्तुत गर्दै उनले थपे –
‘लक्जम्बर्गमा सार्वजनिक यातायात फ्री छ। उनीहरूको मुख्य आम्दानी पर्यटन। हाम्रो देशमा त प्रकृति, सौन्दर्य र जलस्रोत अपार छ। शिक्षा, स्वास्थ्य र यातायात पनि फ्री बनाउन सकिन्छ।’
घिसिङले देशमा ठूलो मात्रामा पुँजीगत लगानी पुग्न सके विदेशिएका युवाहरू स्वदेशमै बस्न चाहने वातावरण बन्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘नेपालमा अवसर सिर्जना गर्न सक्यौँ भने खाडीमा मात्रै होइन, युरोप र अमेरिकामै बसेका युवाहरू पनि फर्केर नेपाल बस्न चाहन्छन्। हाम्रो देश यति सुन्दर छ कि अवसर मात्र चाहियो।’
उनका अनुसार राजनीतिक परिवर्तन धेरै भइसकेकाले अब आर्थिक रूपान्तरण आवश्यक छ।
‘अब आर्थिक क्रान्ति गरेर देश समृद्ध बनाउने बेला आएको छ,’ मन्त्री घिसिङले घोषणा सभामा भने।


