काकडभिट्टातर्फ आउँदै गरेको बस दुर्घटना: एकको मृत्यु, ११ घाइते
झापा । सप्तरीको कञ्चनरुप नगरपालिकामा यात्रुबाहक बस र ट्रक एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्।
नगरपालिकाको वडा नं. २ बरमझियास्थित पूर्व–पश्चिम लोकमार्गमा बिहीबार राति जनकपुरबाट काकडभिट्टातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको बस र विपरीत दिशाबाट आएको ना ३ ख ४४०२ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बसमा सवार करिब ५० वर्षीय पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। मृतकको नाम–ठेगाना खुलेको छैन।
घाइते ११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा जम्मा ५५ जना यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ।


