लेटाङ नगरपालिकाद्वारा पहाडी वडाका युवायुवतीलाई पशु प्राविधिक तालिम
लेटाङ, १९ मंसिर। लेटाङ नगरपालिकाले पहाडी वडाका युवायुवतीलाई पशु प्राविधिक (ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता) तालिम प्रदान गरी स्थानीयस्तरमै पशु उपचार सेवा सुनिश्चित गर्न सकारात्मक पहल गरेको छ।
लेटाङका वडा १, ७ र ८ का बाख्रापालक कृषकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले १० जना युवायुवतीलाई १ महिनाको तालिम पशु सेवा तालिम केन्द्र दुहवीमा प्रदान गरिएको हो।
शुक्रबार सम्पन्न कार्यक्रममा प्रशिक्षण लिएकाहरुलाई प्रमाणपत्र वितरण गरियो। प्रमुख अतिथि नगर प्रमुख भूपेन्द्रकुमार लावतीले पहाडी वडामा पशु उपचार महँगो र कठिन भएको गुनासोपछि तालिमको व्यवस्था गरिएको बताउँदै सिकेको ज्ञानलाई आय–आर्जन तथा गाउँघरमा सेवा विस्तारमा प्रयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो।
उपप्रमुख कृष्णकुमारी निरौलाले पहाडी क्षेत्रमा ठूलो मात्रामा बाख्रापालन भए पनि उपचार सेवा अभाव रहेको भन्दै तालिम अत्यन्तै उपयोगी भएको उल्लेख गर्नुभयो।
सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट औषधि उपचार, आहार व्यवस्थापन, रोग पहिचानदेखि खोर व्यवस्थापनसम्मका ज्ञान पाएर गाउँमै सेवा दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
यो तालिमले स्थानीय युवायुवतीलाई रोजगारी सिर्जना र पहाडी क्षेत्रका कृषकलाई सहज सेवा उपलब्ध गराउने महत्वपूर्ण आधार तयार पारेको नगरवासीको प्रतिक्रियामा उल्लेख छ।-लेटाङ खबरबाट


