संखुवासभामा आगलागीमा परि ८८ वर्षीय वृद्धको मृत्यु, करोडौँको क्षति
संखुवासभा । संखुवासभाकाे चैनपुर नगरपालिका–४ मा आईतबार बिहान खाना पकाउने क्रममा ग्यास चुलोबाट आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने ठूलो मात्रामा धनसम्पत्ति नष्ट भएको छ।
आगलागी श्याम लिम्बुको घरमा भएको हो। आगो फैलिँदा घरमै रहेका उनका बुबा ८८ वर्षीय वीरबहादुर लिम्बुको जलेर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। अचानक लागेको आगो समयमा नियन्त्रणमा आउन नसक्दा घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।
आगलागीबाट १४ तोला सुन, करिब १२ लाख रुपैयाँ नगद, १५० मन आलैची, करिब ३ लाख रुपैयाँ बराबरको पसलको सामग्री तथा ७ कोठे एकतले पक्की घर पूर्ण रूपमा नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार घटनाबाट ठूलो आर्थिक क्षति भएको छ।
घटनापछि स्थानीयवासी, सुरक्षाकर्मी तथा सम्बन्धित निकायले आगो नियन्त्रण र घटनास्थलको निरीक्षण गरेका छन्। आगलागीको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।-श्रोत : अमृत थुलुङ


