ईश्वर पोखरेल समूहद्वारा मतदान प्रक्रिया तत्काल सुरु गर्न औपचारिक माग
काठमाडौ । नेकपा एमालेभित्रको ईश्वर पोखरेल समूहले मतदान प्रक्रिया तत्काल सुरु गर्न औपचारिक माग अघि सारेको छ। निर्धारित समय बितिसक्दा पनि मतदान सुरु नभएपछि उक्त समूहले निर्वाचन आयोगसँग प्रत्यक्ष भेट गरी आफ्नो असन्तुष्टि प्रकट गरेको हो।
नेत्री अष्टलक्ष्मी शाक्यका अनुसार मतदानमा भइरहेको ढिलाइप्रति गम्भीर चासो जनाउँदै आयोगका पदाधिकारीको ध्यानाकर्षण गराइएको छ। उनले ढिलाइलाई स्वाभाविक प्रक्रिया मान्न नसकिने भन्दै तत्काल मतदान सुरु गर्नुपर्ने स्पष्ट धारणा राखिन्।
ईश्वर पोखरेल समूहले मतदान ढिला हुनुको बहानामा केपी शर्मा ओली पक्षबाट चलखेल भइरहेको आरोप पनि लगाएको छ। दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको बताइए पनि सो समय पार भइसक्दा समेत प्रक्रिया अघि नबढेपछि समूहले दबाब बढाएको हो।


