झापामा ट्याक्टर दुर्घटना हुंदा एक जनाको मृत्यु, ४ घाइते
झापा । झापाको गौरादह नगरपालिका–५ चान्दुखोलास्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। शनिबार राति करिब १०:३० बजे बालुबथानबाट फकिटिप गाउँतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परी ट्याक्टरमा सवार गौरादह नगरपालिका–७ का ३५ वर्षीय महमत माजिमको मृत्यु भएको छ। शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि दमक अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। अहिले उनको शव सोही अस्पतालमा राखिएको छ।
सोही दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा गौरादह–७ का ४९ वर्षीय सत्य नारायण राजवंशी, २३ वर्षीय संजित ऋषीदेव, २३ वर्षीय अभिजुल मिया र ३४ वर्षीय केलु मिया रहेका छन्। घाइतेमध्ये अभिजुल मियाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ। उनीहरूको दमक अस्पतालमा उपचार भइरहेको छ।
ट्याक्टर चालक गौरादह–७ का ३८ वर्षीय यम प्रसाद राजवंशी भने दुर्घटनालगत्तै फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।


