धरान बस दुर्घटना अपडेट : मृतक ५ जनाको खुल्यो पहिचान
सुनसरी । जनकपुरबाट धरानको भेडेटारमा शैक्षिक भ्रमणका लागि आएको एक निजी विद्यालयको बस दुर्घटना हुँदा मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक भीषण बहादुर राईका अनुसार मृत्यु हुनेमा झापाका उमेश राई, सुनसरी बराहक्षेत्रका नयन थापा मगर, धरान–१३ की शुभेच्छा सुब्बा, जनकपुरका १८ महिनाको बालक रिसवकुमार मण्डल र धैर्यकुमार यादव रहेका छन् । दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् ।
घाइते १७ जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पुर्याइएको छ । घाइतेमध्ये धरान–१३ की यशोदा श्रेष्ठको पहिचान खुलेको छ भने अन्यको विवरण सङ्कलन भइरहेको छ ।


