सुनसरीमा ब्राउन सुगर सहित तीन जना पक्राउ
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कात्तिक ७ गते साँझ ५ः१५ बजे जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको यात्रुवाहक सिटी सफारीमा सवार तीन जनालाई शंकाका आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा उनीहरूले बोकेको प्लास्टिकको झोलामा लुकाइछिपाइ राखिएको ब्राउन सुगरजस्तो देखिने ९ ग्राम ५७० मिलिग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थसहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१२ निवासी ३५ वर्षीय रविन चौधरी, रामधुनी नगरपालिका–७ निवासी ३० वर्षीय टार्जन चौधरी र इनरुवा नगरपालिका–८ निवासी १९ वर्षीय लम्बु भनिने साहदिन हुसेन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


