धनकुटाको साँगुरीगढी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा तथा दिगोपना कार्यक्रम सम्पन्न
हिराराज राई,धनकुटा ।धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा तथा दिगोपना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
“स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष जितेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद पौडेल, स्वास्थ्य कार्यालय धनकुटाकी प्रमुख सिर्जना बन्जाडे, इलाका प्रहरी कार्यालयका प्रमुख महेश भट्टराईलगायत साँगुरीगढी गाउँपालिकाका सबै वडामा कार्यरत स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले पूर्ण खोप सुनिश्चितता बालबालिकाको स्वस्थ भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै खोप कार्यक्रमलाई निरन्तर, प्रभावकारी तथा दिगो बनाउन स्थानीय सरकार, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।
पालिकाले सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याई खोपबाट रोक्न सकिने रोगहरूको न्यूनीकरण गर्न सफल भएको जनाउँदै, यस उपलब्धिलाई निरन्तरता दिन समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेको थियो।
कार्यक्रमले साँगुरीगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा कायम राख्दै दिगोपना सुनिश्चित गर्ने दिशामा थप प्रतिबद्ध बनाएको सहभागी स्वास्थ्यकर्मीहरूको निष्कर्ष रहेको थियो।



