राष्ट्रियसभामा कोशीबाट मेचे र पोर्तेल निर्वाचित, थापा यसअघि नै निर्विरोध
विराटनगर। राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशबाट महिला/अल्पसंख्यक समूहमा रोशनी मेचे र दलित समूहमा सोमनाथ पोर्तेल निर्वाचित भएका छन्।
आइतबार सम्पन्न निर्वाचनमा कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवारहरूले सफलता हासिल गरेका हुन्।
दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेलले ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। झापाको हल्दिबारी स्थायी बासिन्दा पोर्तेल लामो समयदेखि एमाले संगठन तथा दलित आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन्।
उनी कांग्रेस–एमाले–जसपा गठबन्धनको समर्थनमा उम्मेदवार बनेका थिए। दलिततर्फ नेकपाबाट खेम सुन्दास उम्मेदवार थिए।


