परस्त्रीसँग भेटिएका श्रम संस्कृति भोजपुरका सचिवलाई कारवाही गर्ने हर्क साम्पाङको घोषणा
भोजपुर ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भोजपुर जिल्ला सचिव भीम राईमाथि कारबाही गरिने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष साम्पाङले उक्त घटनालाई संगठनको नीति वा निर्देशनसँग नजोड्न आग्रह गर्दै गल्ती व्यक्ति स्वयंको भएको स्पष्ट पारेका छन्।
भीम राई दुई दिनअघि एक विवाहित महिलासँग आपत्तिजनक अवस्थामा फेला परेपछि भोजपुरको इलाका प्रहरी कार्यालय दिङ्लाबाट पक्राउ परेका थिए। महिलाका आफन्तले प्रहरी चौकीमा बुझाएपछि राई र ती महिला एक रात हिरासतमा बसेर छुटेका थिए। राई स्वयं पनि विवाहित रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरी कार्यालय बाहिर भएको छलफलका क्रममा राईले ती महिलालाई ‘कान्छी श्रीमती’का रूपमा स्वीकार गरेको बताएपछि महिलाका आफन्तले उनीहरूलाई छाडिदिएको बताइएको छ। घटनापछि पार्टीभित्र व्यापक आलोचना सुरु भएको र त्यसकै पृष्ठभूमिमा अध्यक्ष साम्पाङले सम्बन्धित व्यक्तिसँग सम्पर्क गरी आवश्यक कारबाही गरिने संकेत दिएका हुन्।
पार्टी स्रोतका अनुसार संगठनको नैतिक मापदण्ड विपरीत गतिविधि स्वीकार्य नहुने र यस विषयमा औपचारिक निर्णय छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको छ।


