मोरङ १ मा नयाँ र पुराना शक्ति बीच रोचक भिडन्त

मोरङ । मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट चौथो पटक चुनावी मैदानमा उत्रिएका घनश्याम खतिवडाका लागि यो पटकको प्रतिस्पर्धा एउटा निर्वाचन मात्रै नभएर राजनीतिक जीवनकै ‘अग्निपरीक्षा’ र ‘अन्तिम लडाइँ’ पनि हो ।

खतिवडाको चुनावी खर्चको एउटा रोचक किस्सा छ । २०७० को चुनावमा ७ कट्ठा र २०७४ को चुनावमा १० कट्ठा जग्गा बेचेर उनले चुनावी खर्च जुटाए । खतिवडा एमाले कोशी प्रदेशका अध्यक्षसमेत हुन् । २०७४ को चुनावताका उनी आफ्नी पत्नी दिलकुमारीलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न विराटनगरको होटल ह्यारिसन पुगेका थिए ।

कुराकानीका क्रममा खतिवडाले आफूले जग्गा बेचेर चुनाव लडेको सुनाए ।
ओलीलाई विश्वास लागेन र उनले पत्नी दिलकुमारीतिर हेर्दै सोधे, ‘यिनले साँच्चै कति जग्गा बेचे ?’ । जब पत्नीले ‘१७ ककट्ठा’ भन्ने जवाफ दिइन्, ओली झस्किए । उनले ठट्टा गर्दै भनेका थिए, ‘यिनले त तिमीलाई सडकमा पुर्‍याउने भए । बाँकी भएको जग्गा चाहिँ छिट्टै आफ्नै नाममा पास गरिहाल्नु ।’ ओलीको सुझावपछि खतिवडाले बाँकी सम्पत्ति श्रीमतीको नाममा नामसारी गरिदिए र चुनाव जितेर संसद् छिरे ।

घनश्याम खतिवडा कुनै समय शिक्षक थिए । २०३८ देखि २०४२ सालसम्म मोरङको बुद्ध माविमा पढाउँदा उनको मासिक तलब ५ सय रुपैयाँ थियो । तर, मदन भण्डारी र गुरु बरालले ‘पूर्णकालीन राजनीति’मा आउन भनेपछि उनको जीवनले नयाँ मोड लियो ।खतिवडा ‘स्थायी’ हुने तरखरमा थिए । उनले जागिर नछोड्ने मनसाय बनाएका थिए । तर, जननेता मदन भण्डारीले सोधे, ‘तपाईंको जागिर ठूलो कि पार्टीको आदेश ?’ यो प्रश्नले उनलाई निरुत्तर बनायो । अन्ततः पूर्वएमाले नेता अशोक राईले खतिवडाको राजीनामा लेखिदिए र उनी शिक्षकबाट पूर्णकालीन राजनीतिज्ञ बने ।

यसपटक मोरङ–१ को चुनावी मैदान निकै भिडभाडयुक्त र रोचक छ । यहाँ १७ जना उम्मेदवार छन् । जसमा नयाँ र पुराना शक्तिबीच कडा टक्कर देखिन्छ ।

१, खड्ग फागो (कांग्रेस) : उर्लाबारी नगरपालिकाका पूर्वप्रमुख फागो विकासप्रेमी र जनस्तरमा भिजेका नेता मानिन्छन् ।
२, कुलप्रसाद साम्बा (नेकपा) : पूर्वप्रदेश सांसद र जनयुद्धका कमान्डर साम्बाको आफ्नै बलियो आधार इलाका छ ।
३, यज्ञमणि न्यौपाने (रास्वपा) : झापा–५ मा केपी ओलीसँग भिड्ने चर्चामा रहेका न्यौपाने मोरङ–१ मा आएपछि ‘घण्टी’को क्रेजले पुराना दललाई झस्काएको छ ।
४, शान्ति पाख्रिन (श्रम संस्कृति पार्टी) : हर्क साम्पाङ नेतृत्वको यो पार्टीको पहिलो आमसभा मोरङ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने लेटाङमा भएको थियो । सभामा हजारौं सहभागी थिए । श्रम संस्कृति पार्टीको प्रभाव पनि यहाँ निर्णायक हुन सक्छ ।

यसबाहेक राप्रपाका पूर्णबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी दिलकुमारी लावतीले पनि उल्लेख्य मत काट्ने अनुमान गरिएको छ ।-बेतना दैनिक

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।