धनकुटाको साँगुरीगढीमा एआई प्रविधियुक्त एक्स–रे मार्फत क्षयरोग खोजपड्ताल शिविर सम्पन्न
हिराराज राई,धनकुटा । कोशी प्रदेशको एक मात्र एआई प्रविधियुक्त एक्स–रे मेसिन तथा पोर्टेबल डिजिटल चेस्ट एक्स–रे उपकरणमार्फत खकार परीक्षणसहितको माइक्रोस्कोपिक क्षयरोग खोजपड्ताल शिविर धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ को वडा कार्यालय भवनमा सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा विशेषगरी ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू तथा दीर्घरोगीहरू (क्यान्सर, मधुमेह, उच्च रक्तचापलगायत) लाई प्राथमिकताका साथ निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो। साथै अन्य सर्वसाधारण नागरिकहरूले समेत आफ्नो फोक्सोको स्वास्थ्य अवस्था जाँच गराएका थिए।
शिविरमा एआई प्रविधिको प्रयोग गरी एक्स–रे रिपोर्ट छिटो तथा सटीक रूपमा विश्लेषण गर्दै क्षयरोगका सम्भावित बिरामीहरूको पहिचान गरिएको थियो। शंकास्पद बिरामीहरूको पिसाब र खकार परीक्षणसमेत गरिएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्। यस प्रविधिले कम समयमा धेरै बिरामीहरूको जाँच गर्न सहज बनाउनुका साथै रोगको प्रारम्भिक चरणमै पहिचान गर्न महत्वपूर्ण सहयोग पुगेको जनाइएको छ।
उक्त कार्यक्रमबाट स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। गाउँपालिकाले भविष्यमा पनि यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गरी नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको जनाएको छ।
स्वास्थ्यकर्मीहरूले क्षयरोगको लक्षण देखिएमा समयमै परीक्षण र उपचार गराउन तथा चिकित्सकको सल्लाहअनुसार कम्तीमा ६ महिनासम्म नियमित औषधि सेवन गर्नुपर्ने बताएका छन्।




