संखुवासभाको खाँदबारी मुख्य बजारमा अनुगमन
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका १ स्थित मुख्य बजार क्षेत्रमा बजार अनुगमन गरिएको छ । खाँदबारी नगरपालिकाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, संखुवासभा उद्योग वाणिज्य संघ, नेपाल प्रहरी तथा पत्रकार महासंघको सहभागितामा अनुगमन सम्पन्न भएको हो ।
अनुगमनका क्रममा मुख्य बजारका करिब डेढ दर्जन ठूला होलसेल, साना किराना तथा खुद्रा पसल, सुनचाँदी पसल, औषधि पसल, होटेल, खाद्य पसल, हार्डवेयर, मोबाईल पसल, व्युटी पार्लर तथा तरकारी पसलहरूको निरीक्षण गरिएको थियो । टोलीले विशेषगरी खाद्य वस्तुको गुणस्तर, म्याद, सरसफाइ अवस्था, मूल्यसूची, व्यावसाय दर्ता, नविकरण तथा भण्डारण व्यवस्थाको अवस्थाबारे जाँच गरेको जनाएको छ ।
अनुगमनका क्रममा केही म्याद गुज्रेका पेय पदार्थहरू बरामद गरी तत्कालै नष्ट गरिएको छ । साथै, व्यापारिहरुलाई मध्यपान (मदिराजन्य पदार्थ) र खानेकुरा एउटै स्थानमा नराख्न स्पष्ट निर्देशन दिइएको छ । स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै खाद्य सामग्री र मदिराजन्य पदार्थ छुट्टाछुट्टै सुरक्षित ढंगले भण्डारण गर्न आग्रह गरिएको अनुगमन टोलीले जनाएको छ ।
खाँदबारी नगरपालिकाका प्रशासकीय अधिकृत तथा बजार अनुगमन समितिका संयोजक कमलमणि थापाका अनुसार उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि यस्तो अनुगमन नियमित रूपमा गरिँदै आएको छ ।
“स्वस्थ र सुरक्षित उपभोग नागरिकको अधिकार हो । बजारमा गुणस्तरहीन, म्याद नाघेका सामग्री तथा अव्यवस्थित भण्डारण हुन नदिन कडाइका साथ अनुगमन भइरहेको छ,” उनले बताए ।
नगरपालिकाले व्यवसायीहरूलाई मापदण्ड अनुसार सरसफाइ कायम राख्न, मूल्यसूची अनिवार्य रूपमा राख्न र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समेत सचेत गराएको छ । आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ ।-स्रोत :सुरेन शाक्य/खांदबारी एफएम


