लेटाङमा स्थानीयका माग सुन्दै खड्ग फागो
मोरंग । नेपाली कांग्रेसको तर्फबाट मोरङ–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार तथा कोशी प्रदेश सह–महामन्त्री खड्गबहादुर फागोले लेटाङ नगरपालिकाको वडा नं.–७ अन्तर्गत वाराङ्गी सिमाना, कुम्ले, पित्लुम्बा, फेदापचुङ, वाराङ्गी बजार, डुडे र तिन्कटेरी क्षेत्रमा स्थानीयसँग घरदैलो कार्यक्रममार्फत भेटघाट गरेका छन् ।
सो क्रममा उनले स्थानीयवासीका अपेक्षा र गुनासाहरू ध्यानपूर्वक सुनेर ‘नोट ‘ गरेका छन् ।
स्थानीयहरूले लेटाङ–वाराङ्गी–६ नम्बर बुधबारे जोड्ने सडक कालोपत्रे गर्नुपर्ने, फेदाप जुङ चिसाङ पुल (डीपीआर सम्पन्न भए पनि बजेट अभाव) तथा तिन्कटेरीको झाक्री खोलामा पुल निर्माण गर्नुपर्ने माग राखेका थिए। यस्तै, खानेपानी आयोजनामा बजेट विनियोजन भएतापनि अपुरो रहेको, याङ्शिला–सिहदेवी–वाराङ्गी हुँदै रमिते जोड्ने कृषि सडकको समस्या, उच्च शिक्षाका लागि स्थानीयस्तरमा कलेज नहुँदा विद्यार्थी बाहिर जानुपर्ने अवस्था, खेलमैदानको अभाव तथा मठमन्दिर स्तरोन्नतिको आवश्यकता पनि उनीहरूले औंल्याए।
यसका अलवा प्रहरी चौकीको स्थायी भवन निर्माणको माग समेत उठाइएको थियो। करिव ३ हजारभन्दा बढी जनसंख्या रहेको वडामा ऐतिहासिक सुकेपोखरी र १४०० मिटर उचाइको थाम्चुली डाँडाबाट देखिने हिमशृङ्खलासहितको प्राकृतिक सम्भावनालाई विकास गर्नुपर्नेमा स्थानीयले जोड दिएका थिए।
सो अवसरमा सम्बोधन गर्दे फागोले आफू निर्वाचित भए स्थानीयबीचमै बसेर आवश्यकता अनुसारका बजेट माग गरी योजनाहरू इमान्दारीका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तैगरी, कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मोरङका जिल्ला सभापति तथा निवर्तमान सांसद डिगबहादुर लिम्बुले बदलिँदो राष्ट्रिय परिस्थितिका कारण केही कबुल गरेका योजना आफ्नो कार्यकालमा पूरा गर्न नसकेको स्वीकार गर्दै ती अपुरा योजना सम्पन्न गर्न फागोलाई जिताउनु आवश्यक रहेको बताए।


