मोरङ–३ मा एमालेका उम्मेदवार इरनकुमार राईका प्रतिबद्धता सार्वजनिक
मोपंग । मोरङ–३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार इरनकुमार राई ले पर्यटन, कृषि आधुनिकीकरण र सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका राईले मोरङ जिल्ला भित्रका सिमसार तथा पार्क क्षेत्रको संरक्षण र पूर्वाधार विकासमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारेका हुन्।
उनले बेतना र सिसौली सिमसार, रमितेडाँडा, सुजना पार्क र श्रीजंगा पार्क क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पहुँचमार्ग, सूचना केन्द्र र आधारभूत संरचना विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कृषि क्षेत्रतर्फ ‘एक वडा–एक कृषि प्राविधिक’ कार्यक्रम सञ्चालन, उन्नत बीउ उत्पादन केन्द्र स्थापना, सहुलियत ऋण व्यवस्था तथा डिजिटल बजार प्रणालीमार्फत किसानलाई प्रत्यक्ष बजारसँग जोड्ने योजना सार्वजनिक गरिएको छ। कृषि आत्मनिर्भरता बढाउने र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य पनि घोषणापत्रमा समेटिएको छ।
त्यसैगरी संविधान संशोधन, प्रदेश संरचना सुधार, राजनीतिक स्थायित्व र सुशासनलाई मुख्य एजेन्डा बनाउँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गरेर विकासको गति तीव्र बनाउने उनको भनाइ छ। मोरङ–३ मा प्रमुख दलबीच प्रतिस्पर्धा बढ्दै जाँदा राईका प्रतिबद्धताले चुनावी बहस थप चर्किएको देखिन्छ।

