धनकुटाको हिलेमा जारी राम नवमी कप भलिबल : राम प्रसाद राई र कनकाई नगरपालिका फाइनलमा
धनकुटा,१२ चैत । भोजपुरको राम प्रसाद राई गाउँपालिका र झापाको कनकाई नगरपालिका धनकुटाको हिलेमा जारी १८ औ संस्करणको कोसी प्रदेश स्तरीय अन्तरपालिका राम नवमी कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
हिले भलिबल क्लबको आयोजनामा धनकुटाको हिलेमा भइरहेको प्रतियोगिता अन्तरगत बिहीबार भएको सेमी फाइनल खेलमा राम प्रसादले धनकुटाको पाख्रिवास नगरपालिकालाई र झापाको कनकाई नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
पहिलो सेमी फाइनल खेलमा राम प्रसादले धनकुटाको पाख्रिवास नगरपालिकालाई २५—१६, १५—२५, २२—२५, २७—२५, १५—११ को सेटले पराजित गरेको हो । त्यस्तै झापाको कनकाई नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई १७—२५, २५—२३ र २५—१८ र २५—१९ को सोझो सेटले पराजित गरेको हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिनुभयो ।
फाइनल खेल शुक्रवार एक बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगितामा कोसी प्रदेशका ९ विभिन्न पालिकाको सहभागिता रहेको छ । हिलेमा राम नवमीमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।


