धनकुटाको सांगुरीगढीमा सृजनशील कप २०८३ सुरु: क्वाटरफाइनलमा ८ टिम, आयोजक ‘बी’ टिम सेमिफाइनलमा प्रवेश
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ८ तातोपानीस्थित सृजनशील खेलमैदानमा दोस्रो “सृजनशील कप २०८३” खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालनमा आएको छ। सृजनशील युवा क्लबको आयोजनामा वैशाख पूर्णिमाको अवसर पारेर गत आइतबारदेखि प्रतियोगिता सुरु गरिएको हो।
“युवा एकता हाम्रो जोड, लागुऔषध दुर्व्यसन र नारी हिंसा छोड” भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिता आगामी वैशाख १८ गतेसम्म जारी रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो। प्रारम्भिक चरणका खेलहरू सम्पन्न भइसकेका छन् भने क्वाटरफाइनलका लागि ८ टिम छनोट भएका छन्।
आइतबार सम्पन्न पहिलो दिनको खेलमा बेलहरा एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै चिम्राहा एफसी क्वाटरफाइनलमा प्रवेश गरेको थियो। दोस्रो खेलमा याङलिखाम एफसीलाई ४–० गोल अन्तरले हराउँदै सरस्वती युवा क्लब पनि क्वाटरफाइनलमा पुगेको थियो। पहिलो दिन दुई खेल सम्पन्न भएका थिए।
सोमबार भएको दोस्रो दिनको पहिलो खेलमा माङहाङ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक सृजनशील युवा क्लब क्वाटरफाइनलमा प्रवेश गरेको थियो। दोस्रो खेलमा विष्णु सांस्कृतिक युवा क्लबलाई १–० गोल अन्तरले हराउँदै काजिमान समाज क्वाटरफाइनलमा पुगेको थियो। तेस्रो खेलमा तरी एफसी अनुपस्थित भएपछि पञ्चायन फुटबल क्लब सोत ‘नेटबल’को आधारमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो। चौथो खेलमा पोक्ला एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै ललाहनि फुटबल क्लब पनि क्वाटरफाइनलमा पुगेको थियो। दोस्रो दिन चार खेल सम्पन्न भएका थिए।
मंगलबार सम्पन्न खेलहरूमा टेम्के मयुङ भोजपुर अनुपस्थित भएपछि CCDIC मौनाबुधुक क्वाटरफाइनलमा प्रवेश गरेको थियो। दोस्रो खेलमा पिप्ले युथ क्लबलाई ११–० को फराकिलो अन्तरले पराजित गर्दै आयोजक ‘ए’ टिम क्वाटरफाइनलमा पुगेको थियो। यससँगै १६ टिमबीचको प्रारम्भिक चरणका खेलहरू सम्पन्न भएका छन्।
यसैबीच, क्वाटरफाइनल अन्तर्गत भएको खेलमा चिम्राहा एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक ‘बी’ टिम सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार तीन खेल सम्पन्न भएका थिए।
खेल प्रचलित फिफा नियमअनुसार सञ्चालन भइरहेको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू ‘मेरो गन्तव्य’ फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ।




