धनकुटाको सांगुरीगढीमा जारी सृजनशील कप २०८३: पञ्चायन र सृजनशील ‘ए’ फाइनलमा भिड्ने
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ८ तातोपानीस्थित सृजनशील खेलमैदानमा सञ्चालन भइरहेको दोस्रो “सृजनशील कप २०८३” खुला पुरुष फुटबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ।
सृजनशील युवा क्लबको आयोजनामा वैशाख पूर्णिमाको अवसर पारेर गत आइतबारदेखि सुरु भएको प्रतियोगिता भोलि वैशाख १८ गते बुद्द जयन्ती तथा उभौली पर्वको दिन फाइनल खेल हुने आयोजकले जनाएको छ।
“युवा एकता हाम्रो जोड, लागुऔषध दुर्व्यसन र नारी हिंसा छोड” भन्ने मूल नारासहित सञ्चालन भइरहेको प्रतियोगितामा विहीबार सम्पन्न खेलहरूमा फाइनलका लागि कडा प्रतिस्पर्धा देखिएको थियो।
विहीबार भएको पहिलो सेमिफाइनल खेलमा पञ्चायन फुटबल क्लब, सुनसरीले सृजनशील युवा क्लब ‘बी’लाई ५-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
दोस्रो खेलमा सृजनशील युवा क्लब ‘ए’ले सरस्वती युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
यसअघि सेमिफाइनलका लागि क्वाटरफाइनलबाट ४ टिम छनोट भएका थिए, सेमिफाइनलबाट दुई उत्कृष्ट टिम फाइनलका लागि छनोट भएका छन्।
खेलहरू प्रचलित फिफा नियमअनुसार सञ्चालन भइरहेका छन्। प्रतियोगितामा साँगुरीगढी गाउँपालिका र वडा नं. ८ कार्यालय सहयोगी संस्थाका रूपमा रहेका छन्।
त्यस्तै, इन्टरनेट पार्टनरका रूपमा माउन्टलिंक र मिडिया पार्टनरका रूपमा एचआर न्युज रहेका छन्। प्रतियोगिताका सम्पूर्ण खेलहरू ‘मेरो गन्तव्य’ फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ।


