धनकुटाको सांगुरीगढीमा सम्पन्न दोस्रो “सृजनशील कप २०८३” खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमलाई
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ८ तातोपानीस्थित सृजनशील खेलमैदानमा सञ्चालन भइरहेको दोस्रो “सृजनशील कप २०८३” खुला पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल भारी वर्षाका कारण शुक्रबार स्थगित गरिएको थियो। उक्त खेल आज सम्पन्न गरिएको छ।
“युवा एकता हाम्रो जोड, लागुऔषध दुव्र्यसन र नारी हिंसा छोड” भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त प्रतियोगितामा आयोजक सृजनशील युवा क्लबले उपाधि जित्न सफल भएको छ।
फाइनल खेलमा आयोजक सृजनशील युवा क्लब ‘ए’ले सुनसरीको पञ्चायन फुटबल क्लबलाई ५–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। प्रतियोगिता वैशाख १३ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको थियो, तर १८ गते भारी वर्षाका कारण खेल स्थगित भएपछि शनिबारसम्म सञ्चालन गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता बनेको आयोजक टिमले नगद रु. ७५,०८३, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता पञ्चायन फुटबल क्लब, सुनसरीले नगद रु. ४५,०८३ सहित ट्रफी र मेडल प्राप्त गरेको छ।
खेलाडीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले आयोजकले विभिन्न विधागत पुरस्कारहरू समेत वितरण गरेको थियो। प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, फरवार्ड, डिफेन्डर, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिएको छ।
खेलहरू प्रचलित फिफा नियमअनुसार सञ्चालन गरिएको थियो। प्रतियोगितामा साँगुरीगढी गाउँपालिका र वडा नं. ८ कार्यालय सहयोगी संस्थाका रूपमा रहेका थिए। साथै, इन्टरनेट पार्टनरका रूपमा माउन्टलिंक र मिडिया पार्टनरका रूपमा एचआर न्युज रहेका थिए। प्रतियोगिताका सम्पूर्ण खेलहरू ‘मेरो गन्तव्य’ फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।



