वडास्तरबाट खेलाडी उत्पादनको अभियान : विराटनगर–१९ मा मेयरकप फुटबल सुरु

विराटनगर । विराटनगर महानगरपालिकालाई खेलकुदको सशक्त केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित वडा नम्बर १९ मा आइतबारदेखि ‘अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता’ सुरु भएको छ ।

स्थानीय तहबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिताले विराटनगरमा फुटबल गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।

विराटनगर वडा नम्बर १९ ले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भौतिक पूर्वाधार विकाससँगै खेलकुद, शिक्षा र सामाजिक क्षेत्रको समग्र विकासमा महानगर केन्द्रित रहेको बताए । उनले खेलकुद युवाको ऊर्जा, अनुशासन र पहिचानसँग जोडिएको क्षेत्र भएकाले महानगरले खेल गतिविधिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।

मेयर कोइरालाले यस्ता प्रतियोगिताले वडास्तरबाटै प्रतिभावान खेलाडी खोज्न र राष्ट्रियस्तरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । ‘स्थानीय तहमा नियमित प्रतिस्पर्धा हुन थालेपछि खेलाडीको आत्मविश्वास बढ्छ,’ उनले भने, ‘नयाँ प्रतिभा जन्मिन्छ र विराटनगरको खेल पहिचान अझ बलियो बन्छ ।’

वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेले विराटनगरलाई ‘स्पोट्र्स सिटी’ का रूपमा विकास गर्ने दीर्घकालीन सोचअनुसार प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनका अनुसार खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्नुका साथै लागुऔषध दुर्व्यसन र सामाजिक विकृतिबाट टाढा राख्ने उद्देश्य पनि प्रतियोगिताले बोकेको छ ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ३ का अध्यक्ष बासुबहादुर बस्नेत तथा एन्फाका पूर्वसहसचिव वसन्त अर्यालले खेलकुदप्रति युवाको आकर्षण बढाउन स्थानीयस्तरका प्रतियोगिता प्रभावकारी हुने बताए । उनीहरूले मोफसल फुटबलको विकासका लागि स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

पोखरिया युथ क्लबको संयोजनमा सुरु भएको प्रतियोगितामा विराटनगरका १० वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिता जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । विजेता टोलीले नगद ८० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र उदयीमान खेलाडीलगायत विभिन्न विधामा दैनिक उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार यसले खेलाडीबीच प्रतिस्पर्धात्मक भावना बढाउने र उत्कृष्ट प्रदर्शनका लागि थप प्रेरणा दिने अपेक्षा गरिएको छ ।

यसैबीच उद्घाटन खेलमा आयोजक वडा नम्बर १९ विजयी भएको छ । वडा नम्बर १ विरुद्धको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो । पेनाल्टीमा वडा नम्बर १९ ले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुआत गरेको हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।