धनकुटाको सांगुरीगढीमा स्थित आहालेमा अध्यक्ष फुटबल ग्रासरुट कार्यक्रम उद्घाटन
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ आहालेमा अध्यक्ष फुटबल ग्रासरुट कार्यक्रम उद्घाटन गरिएको छ। स्थानीय स्तरमै बालबालिकाको खेल प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा ८ वर्षभन्दा माथि र १३ वर्षमुनिका बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो। साना उमेर समूहका बालबालिकालाई लक्षित गर्दै सञ्चालन गरिएको ग्रासरुट खेलमार्फत उनीहरूलाई फुटबलप्रति आकर्षित गर्नुका साथै खेलकुदमार्फत शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा AFC ANFA ‘C’ Coach राज कुमार लिम्बुले खेलकुदले बालबालिकामा अनुशासन, स्वास्थ्य तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनले ग्रामीण क्षेत्रका बालबालिकालाई अवसर प्रदान गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।
आयोजक साँगुरीगढी गाउँपालिकाका अनुसार आगामी दिनमा पनि यस्ता खेलकुद कार्यक्रमलाई निरन्तरता दिँदै बालबालिकाको समग्र विकासमा टेवा पुर्याइनेछ।



