धनकुटाको सहिदभुमि–१ गोपालपुरमा नवौँ सरस्वती कप-२०८३ हुने
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको सहिदभुमि गाउँपालिका वडा नं. १ गोपालपुरस्थित सरस्वती युवा क्लबको आयोजनामा नवौँ “सरस्वती कप २०८३” खुला पुरुष फुटबल प्रतियोगिता सरस्वती खेलमैदानमा आयोजना हुने भएको छ।
“सक्षम खेलाडी, प्रतिष्ठाको खेलकुद” भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त प्रतियोगिता आगामी जेष्ठ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने क्लबले जानकारी दिएको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू ‘स्पोर्टिङ नेपाल’ फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
खेलप्रेमीहरूलाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा विजेता टिमले नगद रु. ८०,०५१, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु. ४०,०५१, ट्रफी र मेडल हात पार्नेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रोत्साहन स्वरूप विभिन्न विधागत पुरस्कारहरू पनि प्रदान गरिनेछ। उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर तथा सर्वोत्कृष्ट खेलाडीलाई विशेष सम्मान गरिनेछ।
टिम दर्ताको अन्तिम मिति जेष्ठ ६ गतेसम्म तोकिएको छ भने टाइसिट जेष्ठ ७ गते प्रकाशन गरिनेछ। प्रत्येक टिममा ७+३ गरी जम्मा १२ खेलाडी, १ व्यवस्थापक र १ प्रशिक्षक हुनुपर्नेछ। खेल प्रचलित फिफा नियमअनुसार सञ्चालन हुनेछ र जर्सी तथा स्टकिङको रंग एउटै हुनुपर्नेछ।
प्रतियोगितामा सहिदभुमि गाउँपालिका तथा वडा नं. १ को कार्यालय सहयोगी संस्थाका रूपमा रहेका छन्। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि क्लबका अध्यक्ष अजय राई र सदस्य सन्जिव राईसँग सम्पर्क गर्न सकिनेछ।
सरस्वती युवा क्लबले सम्पूर्ण खेलप्रेमी, स्थानीय बासिन्दा, पत्रकार तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई प्रतियोगितालाई सफल बनाउन अनुरोध गरेको छ। प्रतियोगिताको अवधिभर कुनै विवाद उत्पन्न भएमा आयोजक तथा रेफ्रीको निर्णय अन्तिम हुने क्लबले स्पष्ट पारेको छ।


