धनकुटामा हिले–सिधुवा ११ केभी लाइन मर्मतका लागि आज विद्युत् सेवा अवरुद्ध हुने
धनकुटा । नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले हिलेदेखि सिधुवा तर्फ जाने ११ केभी लाइनअन्तर्गत त्रिसुले–मुढे क्षेत्रमा आवश्यक मर्मत तथा सम्भार कार्य गर्नुपर्ने भएकाले आज विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मौसम अनुकूल भएमा लाइन मर्मत कार्य सञ्चालन गरिनेछ। यस अवधिमा ओक्मालुङ, सिजालीगाउँ, ओख्रे सान्ने, त्रिसुले, गुराँसे, भिरगाउँ र हात्तिखर्क लगायतका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ।
प्राधिकरणले मर्मत कार्यका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् आपूर्ति पनि सोही अनुसार छिट्टै सुचारु गरिने जनाएको छ।


