धनकुटाको सहिदभूमि सहिद पार्क क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्ने ६ मोटरसाइकल चालक कारबाहीमा
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–३ स्थित सहिद पार्क क्षेत्रमा ट्राफिक नियम उल्लंघन गरी लापरवाहीपूर्वक मोटरसाइकल चलाउने ६ जना चालकलाई कारबाही गरिएको छ।
गत असार ८ गते पाथीभरा अनलाइन टिभी मा प्रकाशित भिडियो रिलका आधारमा गरिएको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले कारबाही प्रक्रिया अघि बढाएको हो।
प्रहरीका अनुसार सहिद पार्क क्षेत्रमा स्थानीय व्यक्तिहरूले हेल्मेट नलगाई मोटरसाइकल चलाएको तथा सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावली विपरीत ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि ६ वटा मोटरसाइकलका चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कारबाही गरिएको हो।
ट्राफिक नियमको पालना गर्न तथा सुरक्षित यात्रा सुनिश्चित गर्न प्रहरीले सबै सवारी चालकलाई हेल्मेटको अनिवार्य प्रयोग गर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा लापरवाहीपूर्वक सवारी नचलाउन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षत्रीले ट्राफिक नियम उल्लंघन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने बताए।


