नेपाल रिपब्लिक मिडियाको ८४ लाखभन्दा बढी सेयर आजदेखि कारोबारयोग्य
काठमाडौं, १० जेठ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको ८४ लाखभन्दा बढी कित्ता सेयरको लकइन अवधि बुधबारबाट समाप्त भएको छ। लकइन अवधि सकिएसँगै ती सेयर अब कारोबारका लागि खुला भएका छन्।
कम्पनीको कुल ८४ लाख २ हजार १५९ कित्ता सेयरको लकइन अवधि समाप्त भएको हो। यसमध्ये ५३ लाख २२ हजार ८३ कित्ता संस्थापक समूहको सेयर रहेको छ भने कर्मचारीका लागि सुरक्षित गरिएको ८० हजार ७६ कित्ता सेयर पनि लकइनमुक्त भएको छ।
प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँडको क्रममा संस्थापक तथा कर्मचारीले प्राप्त गरेका सेयर २०८० असार ११ गतेदेखि तीन वर्षका लागि बिक्री–वितरणमा रोक लगाइएको थियो। निर्धारित अवधि पूरा भएसँगै ती सेयरमाथिको प्रतिबन्ध हटेको हो।
लकइन अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर दोस्रो बजारमा खरिद–बिक्री गर्न सक्नेछन्। ठूलो परिमाणमा सेयर कारोबारयोग्य बन्न लागेकाले यसले कम्पनीको सेयर आपूर्ति र बजार गतिविधिमा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।


