धनकुटाकी प्रमुख जिल्ला अधिकारी शर्माले गरिन् जिल्ला प्रहरी कार्यालय धनकुटाको अनुगमन तथा निरीक्षण
धनकुटा, असार ११ । जिल्ला प्रशासन कार्यालय धनकुटाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला प्रहरी कार्यालय धनकुटाको अनुगमन तथा निरीक्षण गरेकी छन्।
निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी शर्माले प्रशासनिक भवन, हिरासत कक्ष, विभिन्न शाखा, सीसीटीभी क्यामरा मनिटरिङ प्रणाली तथा प्रहरी कर्मचारी आवास भवनको अवलोकन गरेकी थिइन्।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जिल्लाको शान्ति सुरक्षा अवस्था, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रणका गतिविधि, कार्यालयले सञ्चालन गर्दै आएका कामकारबाही, जिल्लाको समग्र वस्तुस्थिति तथा भावी कार्ययोजनाबारे जानकारी गराएका थिए।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी शर्माले आगामी दिनमा हुन सक्ने विपद् व्यवस्थापन तथा उद्धार कार्यमा उच्च मनोबलका साथ खटिन सम्पूर्ण प्रहरी कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिएकी थिइन्।


