धनकुटामा लागुऔषध नियन्त्रण सप्ताह अन्तर्गत प्रभातफेरी र प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न(फोटो फिचर)
धनकुटा, असार १२ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज धनकुटामा प्रभातफेरी तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम धनकुटा नगरपालिका–६ स्थित भिमनारायण चोकबाट सुरु गरिएको थियो। प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा ज्यूको नेतृत्वमा प्रभातफेरी गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरन तामाङ, धनकुटा नगरपालिकाकी उपप्रमुख भिमादेवी खनाल, नेपाली सेनाका प्रमुख सेनानी गणेश थापा, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकार, प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्री, सशस्त्र प्रहरी बल ६ नं. गुल्म (हे.क्वा.) छिन्ताङका प्रहरी नायब उपरीक्षक प्रेमराज सिग्देल, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि रामेश्वर बस्नेत लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, विद्यार्थी, अधिकारकर्मी, “धनकुटा सहयोगी हातहरु” सहित विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
भिमनारायण चोकबाट सुरु भएको प्रभातफेरी धनकुटा बजार परिक्रमा गर्दै बसपार्कमा पुगेर सम्पन्न गरिएको थियो। सो अवसरमा लागुऔषध दुरुपयोग न्यूनीकरण गर्ने प्रतिबद्धतासहित सामूहिक हस्ताक्षर कार्यक्रम समेत गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।






तस्बीर :जिल्ला प्रहरी कार्यालय धनकुटा


