धनकुटामा २० किलो गाँजा सहित युवक पक्राउ
धनकुटा, असार १५ । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–७ लुम्फाजुङस्थित सडकखण्डमा २० किलो प्रतिबन्धित लागू औषध (गाँजा) सहित एक युवक पक्राउ परेका छन्।
आज बिहान करिब ०५:०० बजे प्रहरी चौकी डाँडाबजारबाट खटिएको प्रहरी टोलीले डाँडाबजारबाट ओख्रेतर्फ जाँदै गरेको बा ६४ प १४३५ नम्बरको मोटरसाइकललाई शंकास्पद देखी रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलको पछाडि बाँधिएको बोरा र झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
उक्त मोटरसाइकलका चालक साँगुरीगढी–५ निवासी २४ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिई लागू औषध (गाँजा), मोबाइल फोन र मोटरसाइकलसहित आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
पक्राउ परेका राईलाई धनकुटा जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।


