धनकुटामा ‘पत्रकारिताको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न
धनकुटा । ‘धनकुटाको पत्रकारिताको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम धनकुटामा सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ धनकुटाको आयोजनामा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरेका थिए।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का निवर्तमान महाप्रबन्धक सिद्धराज राई तथा धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकारी विकास अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा नगर प्रमुख चिन्तन तामाङ, उपप्रमुख भीमादेवी खनाल, वडा नम्बर ७ का अध्यक्ष रोशेश श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, महासंघका सल्लाहकार विजय सन्तोषी राई र राजेश्वरबहादुर श्रेष्ठ, कार्यपालिका सदस्य मनुकला लिम्बु तथा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष गोपाल बराइलीलगायतले स्थानीय सञ्चार माध्यमको विकास र सुदृढीकरणमा स्थानीय तहको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए।
वक्ताहरूले स्थानीय सञ्चार माध्यमलाई संस्थागत, व्यावसायिक र दिगो बनाउन स्थानीय सरकारले नीतिगत तथा व्यावहारिक सहयोग गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव ईश्वर थापाले गरेका थिए।


