धनकुटामा दोहोरो नागरिकता र दुई राहदानी लिएको आरोपमा एक जना पक्राउ
धनकुटा । दोहोरो नागरिकता तथा दुवै नागरिकताका आधारमा राहदानी लिएको आरोपमा धनकुटामा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार महालक्ष्मी नगरपालिका–४ (साविक मूर्तीढुंगा–८) का ४३ वर्षीय दोर्णराज काफ्लेलाई पक्राउ गरिएको हो।
उनले गलत उद्देश्यका साथ झुटा विवरण पेश गरी आफ्नो वास्तविक जन्ममिति लुकाएर दोहोरो नागरिकता प्राप्त गरेको तथा दुवै नागरिकताका आधारमा राहदानीसमेत बनाएको आरोप छ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले असार १८ गते पठाएको पत्रका आधारमा काफ्लेलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


