धनकुटाका प्रजिअ शर्माद्वारा अरुण तथा तमोर कोरिडोरको अनुगमन, समयमै निर्माण सम्पन्न गर्न निर्देशन
धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा जिल्ला सुरक्षा समितिका पदाधिकारी र आयोजना प्रमुखहरूले शनिबार अरुण कोरिडोर र तमोर कोरिडोरअन्तर्गत विभिन्न सडक खण्डको स्थलगत अनुगमन गरेका छन्।
अनुगमनका क्रममा निर्माणाधीन सडक आयोजनाको प्रगति, सडकको अवस्था तथा यात्रु आवागमनमा पर्ने प्रभावबारे जानकारी लिइएको थियो। प्रमुख जिल्ला अधिकारी शर्माले आयोजनाको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न, निर्माणका क्रममा राजमार्ग अवरोध हुन नदिन तथा सडकमा रहेका खाल्टाखुल्टी तत्काल पुर्न निर्देशन दिएकी छन्।
साथै, सम्भावित अवरोध तथा विपद् व्यवस्थापनका लागि आवश्यक मेसिनरी उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
अनुगमनपछि प्रमुख जिल्ला अधिकारी शर्मा नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी त्रिवेणीको समेत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा शान्ति सुरक्षा, सेवा प्रवाह तथा कार्यालय व्यवस्थापन सम्बन्धी आवश्यक निर्देशन प्रदान गरिएको जनाइएको छ।


