धनकुटामा १ सय ७५ किलोभन्दा बढी गाँजा सहित ट्याक्टर चालक पक्राउ
धनकुटा,२१ असार । धनकुटामा प्रहरीले १७५ किलो ५७० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा सहित एक जना युवकलाई पक्राउ गरेको छ।
गत असार २० गते राति करिब ११ः५५ बजे महालक्ष्मी नगरपालिका–६ माङमाया स्थित कोशी लोकमार्गमा प्रहरी चौकी लेगुवाबाट खटिएको चेकिङ टोलीले विभिन्न सवारी साधन जाँच गर्ने क्रममा चानुवाबाट लेगुवातर्फ जाँदै गरेको को २ त ४८९८ नम्बरको ट्याक्टर रोकेको थियो।
जाँचका क्रममा ट्याक्टरमा २२ वटा बोराभित्र लुकाइछिपाइ राखिएको जम्मा १७५ किलो ५७० ग्राम गाँजा फेला परेपछि ट्याक्टर चालक महालक्ष्मी नगरपालिका–४ निवासी १९ वर्षीय राजकुमार बयलकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
प्रहरीले गाँजा, ट्याक्टर र चालकसँग रहेको एक थान मोबाइल फोन बरामद गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


