धनकुटामा सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री तथा प्रदर्शन नगर्न प्रशासनको चेतावनी
धनकुटा,२२ असार । जिल्ला प्रशासन कार्यालय धनकुटाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री, प्रदर्शन तथा वितरण नगर्न सबैलाई अनुरोध गर्दै उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।
कार्यालयले आज जारी गरेको सूचना अनुसार सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को परिच्छेद–३ को दफा ११ बमोजिम खैनी, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय लगायतका सार्वजनिक स्थलमा बिक्री तथा प्रदर्शन गर्न निषेध गरिएको छ।
यस्तै, १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई तथा गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न पनि कानुनी रूपमा बन्देज रहेको प्रशासनले स्मरण गराएको छ।
कार्यालयले यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने भएकाले सबै व्यवसायी तथा सर्वसाधारणलाई नियमको पालना गर्न आग्रह गरेको छ।



