धनकुटामा राति सवारी सञ्चालनमा रोक, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
धनकुटा । जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा धनकुटा जिल्ला प्रशासन कार्यालयले साउन २ र ३ गते अति भारी वर्षाको सम्भावना रहेको भन्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार साउन २ गते शनिबार र साउन ३ गते आइतबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म भेडेटार–रवि–राँके सडकखण्ड, मूलघाटदेखि पाँचथरको सीमासम्मको तमोर करिडोर तथा भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
प्रशासनले सम्भावित बाढी, पहिरो, कटान, गेग्रान बहाव र डुबानबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
त्यसैगरी, तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित आयोजनालाई पनि भनिएको छ।
जोखिमयुक्त बस्तीका नागरिकलाई पूर्वसूचना तथा चेतावनीका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तह र सुरक्षा निकायलाई निर्देशन दिइएको छ। साथै, खोला–खहरे, नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।
आपत्कालीन अवस्थाका लागि नेपाल प्रहरीको १११४ हटलाइन नम्बर मोबाइलमा सुरक्षित राखी आवश्यक परे तुरुन्त सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय धनकुटाले आग्रह गरेको छ।



