मोरङमा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ
विराटनगर, साउन ११ । मोरङको रंगेली क्षेत्रमा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते बिहान सुनवर्षी नगरपालिका निवासी एक बालिकालाई सिटी चालक रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद अरमानले प्रलोभनमा पारेर रंगेली–७ स्थित युमी क्याफेमा लगेका थिए। त्यहाँ उनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ। त्यसपछि सोही क्याफेका सञ्चालक सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमन कुमार साहले पनि बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी साउन ४ गते राति करिब ९ बजे रंगेली–७ का २० वर्षीय करण मण्डलले पीडितलाई रंगेली–७ स्थित ‘द ९०स क्याफे’मा लगेको र त्यहाँ प्रियान्सु साह (१८) र रितिक यादव (१८) सहित तीन जनाले सामूहिक रूपमा जबरजस्ती करणी गरेको आरोप छ।
पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १० गते पाँचै जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रंगेली–३ का मोहम्मद अरमान, सुनवर्षी–९ का सुमन कुमार साह, रंगेली–७ का करण मण्डल, प्रियान्सु साह तथा रंगेली–६ का रितिक यादव रहेका छन्।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


