धनकुटामा ट्रक दुर्घटनापछि आगलागी, चालकको घटनास्थलमै मृत्यु
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक फेल भएर दुर्घटना हुँदा ट्रकमा आगलागी भई चालकको जलेर मृत्यु भएको छ।
प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड ट्रक ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएको थियो। ठक्कर लगत्तै ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।
आगलागीका क्रममा ट्रकका चालक भोजपुरका ३० वर्षीय विशाल राई ट्रकबाट बाहिर निस्किन सफल भए पनि गम्भीर रूपमा जलेका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रकका सहचालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सञ्जीव सङ्गौला भने सकुशल रहेका छन्।
प्रहरीले दुर्घटनाको कारण र आगलागीबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


