भोजपुरमा ७ रोपनी क्षेत्रका करिब ८ हजार ९ सय गाँजाका बोट तथा बेर्ना नष्ट
भोजपुर, साउन १२ — भोजपुरमा प्रहरीले अवैध रूपमा लगाइएको गाँजाको खेती फडानी गरी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ र बालंखा, प्रहरी चौकी हसनपुर तथा अस्थायी प्रहरी चौकी दुम्मानाबाट साउन ११ गते खटिएको संयुक्त प्रहरी टोलीले हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न डाँडापाखामा रहेको गाँजाको खेती नष्ट गरेको हो।
प्रहरीका अनुसार करिब ७ रोपनी क्षेत्रफलमा लगाइएको करिब ८ हजार ९ सय वटा गाँजाका बेर्ना तथा हुर्किएका बोट फडानी गरी जलाएर नष्ट गरिएको छ।
अवैध लागूऔषधको उत्पादन तथा ओसारपसार नियन्त्रण गर्ने अभियानअन्तर्गत प्रहरीले गाँजाखेती फडानीलाई निरन्तरता दिएको जनाएको छ।


