झापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु
झापा, साउन १३ । झापाको भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ।
कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१-०१-००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी भद्रपुर नगरपालिका–९ निवासी धनमाया खड्का (९२) लाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार कार चालकले नै घाइते खड्कालाई आफ्नै गाडीमा अस्पताल पुर्याएका थिए। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।


