निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर कोहलपुरमा तीन मजदुरको मृत्यु
बाँके, साउन १३ । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।
स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा बुधबार बिहान करिब ९ बजे काम गर्ने क्रममा तीनै जना मजदुर फसेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी र उद्धार टोली घटनास्थल पुगेको थियो। जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर उनीहरूलाई बाहिर निकालिए पनि तीनै जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ निवासी अन्दाजी ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्।
मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


