राैतहटमा ठाउँको नाम विवाद उत्कर्षमा पुग्दा स्वागत बोर्ड उखेलियाे

सञ्जय मिश्रा,
रौतहट, १३ साउन। रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित ऐतिहासिक पेटभर्वा गाउँको नामलाई लिएर लामो समयदेखि चल्दै आएको विवाद फेरि चर्किएको छ।

 

मंगलबार राति गाउँ प्रवेशद्वारमा राखिएका ‘पेटभर्वा’ लेखिएका स्वागत बोर्डमा तोडफोड भएपछि स्थानीयस्तरमा पुनः तनाव उत्पन्न भएको हो।

 

स्थानीयका अनुसार तीन वटा स्वागत बोर्ड उखेलेर फालिएको छ भने थप दुई वटा बोर्डमा कालोमोसो दलिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी निष्पक्ष छानबिन तथा कानुनी कारबाही गर्न उनीहरूले प्रशासनसँग माग गरेका छन्।

 

इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर रादेश खत्रीले एउटा बोर्डमा तोडफोड र अर्कोमा अज्ञात व्यक्तिले कालोमोसो दलेको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

 

स्थानीयहरूको भनाइमा ‘पेटभर्वा’ नाम पुस्तौँदेखि सरकारी अभिलेख, नक्सा तथा प्रशासनिक कागजातमा कायम रहँदै आएको हो। तर केही वर्षयता कानुनी प्रक्रिया र सर्वपक्षीय सहमतिबिनै ‘यदुवंशीनगर’ नाम प्रयोग गर्न थालिएपछि विवाद सुरु भएको उनीहरूको दाबी छ।

२०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनपछि वडा कार्यालयको छाप र लेटरप्याडमा ‘यदुवंशीनगर’ उल्लेख हुन थालेपछि गाउँ दुई धारमा विभाजित भएको स्थानीयहरूको आरोप छ। विरोधपछि केही समय ‘पेटभर्वा’ नाम प्रयोग गरिए पनि २०७९ को निर्वाचनपछि पुनः ‘यदुवंशीनगर’ नै प्रयोग हुन थालेको उनीहरूको भनाइ छ।

 

विवाद समाधानका लागि स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय रौतहट, गृह मन्त्रालयदेखि सर्वोच्च अदालतसम्म गुहार मागेका छन्। जिल्ला प्रशासन कार्यालयले प्रचलित कानुनअनुसार आधिकारिक नाम, छाप र लेटरप्याड मात्रै प्रयोग गर्न वडा कार्यालयलाई निर्देशन दिँदै दुई पटक तीन दिनभित्र लिखित स्पष्टीकरणसमेत मागेको थियो। तर प्रशासनको निर्देशन पूर्ण रूपमा कार्यान्वयन नभएको स्थानीयहरूको आरोप छ।

 

यसैबीच, गाउँको नाम तथा वडा कार्यालयको छाप र लेटरप्याडमा ‘यदुवंशीनगर’ प्रयोग गरिएको विषयमा दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यद्यपि विषयको संवेदनशीलतालाई दृष्टिगत गर्दै अदालतले अग्राधिकारका साथ शीघ्र सुनुवाइ गरी अन्तिम निर्णय गर्न आदेश दिएको छ। अदालतले यो विवाद जातीय, भाषिक, सांस्कृतिक तथा सामाजिक सद्भावसँग जोडिएको विषय भएकाले ढिलाइ नगरी टुंगो लगाउनुपर्ने उल्लेख गरेको छ।

 

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले यसअघि सरकारी अभिलेखमा रहेको गाउँको नाम परिवर्तन गर्न मन्त्रिपरिषद्को निर्णय तथा कानुनी प्रक्रिया अनिवार्य हुने स्पष्ट पार्दै आएका छन्।
यता वर्तमान वडा अध्यक्ष राम एकवाल यादव र पूर्व वडा अध्यक्ष हिरालाल यादवले भने नगर कार्यपालिका बैठकबाट गाउँको नाम परिवर्तन गर्ने निर्णय भइसकेकाले वडा कार्यालयको छाप र लेटरप्याडमा ‘यदुवंशीनगर’ प्रयोग गरिएको बताउँदै आएका छन्।

 

लामो समयदेखि जारी नाम विवादबीच स्वागत बोर्डमा गरिएको तोडफोड र कालोमोसो दल्ने घटनाले गाउँमा सामाजिक ध्रुवीकरण थप बढ्न सक्ने चिन्ता स्थानीयहरूले व्यक्त गरेका छन्। उनीहरूले कानुनी प्रक्रियाबाट विवादको स्थायी समाधान खोज्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

 

अब सर्वोच्च अदालतबाट आउने अन्तिम निर्णयले वर्षौंदेखि कायम गाउँको नाम विवादको निकास दिने अपेक्षा स्थानीयवासीले गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।