श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीमाथि कुटपिट गर्ने श्रीमान पक्राउ परेका छन्। कुटपिटबाट गम्भीर घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय अन्दाजी ५०/५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवनपछि आफ्नी ४७ वर्षीया श्रीमती अमृता ओलीमाथि कुटपिट गरेका थिए।
घटनाको जानकारी वडा अध्यक्षमार्फत प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले कुटपिटमा संलग्न चन्द्रबहादुर ओलीलाई नियन्त्रणमा लिएको हो।
कुटपिटबाट गम्भीर घाइते भएकी अमृतालाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी चन्कट्टे लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी रिफर गरिएकोमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


