सुनसरीमा सुरक्षा निगरानी कडा : ६ वटा ड्रोन परिचालन, अवस्था क्रमशः सामान्य बन्दै
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई धार्मिक समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले ६ वटा ड्रोन परिचालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार दङ्गा प्रभावित क्षेत्रमा भइरहेका गतिविधिको प्रत्यक्ष निगरानी, सुरक्षा अवस्थाको मूल्याङ्कन तथा सम्भावित अवाञ्छित गतिविधि रोक्न ड्रोनमार्फत हवाई निगरानी सुरु गरिएको हो।
प्रहरीका अनुसार घटनापछि तनावग्रस्त बनेको कप्तानगञ्ज क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। गाउँपालिकामा सर्वदलीय बैठक जारी रहेको तथा स्थानीय तह, सुरक्षा निकाय र राजनीतिक दलबीच शान्ति कायम गर्न समन्वयात्मक पहल भइरहेको जनाइएको छ।
सूचना अधिकारी खड्काले क्षेत्रको अवस्थामाथि निरन्तर निगरानी राखिएको उल्लेख गर्दै कुनै पनि अप्रिय घटना दोहोरिन नदिन ड्रोनमार्फत नियमित हवाई अनुगमन गरिने बताए।
यसैबीच, सुरक्षा निकायले स्थानीयवासीलाई अफवाहमा विश्वास नगर्न, संयमता अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। देवानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उच्च सतर्कताका साथ परिचालित रहेको जनाउँदै स्थिति पूर्ण रूपमा सामान्य बनाउन सुरक्षा निगरानी अझ कडा पारिएको प्रहरीले जनाएको छ।


