विराटनगर विमानस्थलबाट जुत्ताको सोलभित्र लुकाई कार्गो गरिएको १८.४८ ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ
मोरङ । विराटनगर विमानस्थलबाट काठमाडौं पठाउन लागिएको कार्गो सामानबाट ब्राउन सुगर बरामद भएपछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १३ गते साँझ करिब ७ बजे विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस (Expo Xpress) कुरियर मार्फत काठमाडौं पठाउन लागिएको स्पोर्ट्स जुत्ताको कार्गो सामानमा शंका लागेपछि विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरी टोलीले एक्स–रे मेसिनबाट जाँच गरेको थियो।
जाँचका क्रममा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइराखिएको अवस्थामा १८.४८ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उक्त सामान कुरियर गर्न आएका विराटनगर महानगरपालिका–५ निवासी २४ वर्षीय एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बरामद गरिएको पदार्थको परीक्षण तथा घटनाबारे थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको जनाएको छ।
प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जनाएको छ।


